चीनको भ्रमण पूरा गरी उपप्रधानमन्त्री थापा स्वदेश फर्कदै

१४ पुस, काठमाडौं ।

एक हप्ते चिनियाँ भ्रमण पूरा गरी उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज स्वदेश फर्कदैछ । टोली बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल आइपग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री थापा नेतृत्वको ९ सदस्यीय प्रतिनिधि मण्डल गत पुष ८ गते चीन गएको थियो ।

तराई मधेसमा जारी आन्दोलन र भारतीय नाकावन्दी पछि उत्पन्न संकट समाधानको विकल्प खोज्न चीन गएको टोलीसँग अहिले नै ठोस सम्झौता नभए पनि महत्वपूर्ण आधार तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण दुईपक्षिय सम्बन्ध विस्तार र आपूर्ति सहज बनाउने विषयमा महत्वपूर्ण भएको मन्त्रालयको भनाई छ ।
मन्त्रालयका प्रवक्ता तारा प्रसाद पोख्रेलले चीनसँग अनुदान सहयोग, व्यापार पारवाहन सन्धी, द्धिपक्षी लगानी प्रवद्र्धन तथा सुरक्षा सम्झौता विप्पा लगायत विषयमा महत्वपूर्ण छलफल भएको र भविष्यमा सम्झौताका लागि बलियो आधार तयार भएको बताए । अहिलेको छलफलका आधारमा पछि प्रधानमन्त्री स्तरिय भ्रमणमा सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आगामी बैशाख अघि नै चीन जाने तयारीमा छन । भ्रमणको क्रममा ९ सय मिलियन चिनियाँ युआन अनुदान सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो । मन्त्री थापा नेतृत्वको टोलीले चिनियाँ उपराष्ट्रपति, विदेशमन्त्री तथा उच्च राजनीतिक तहमा भेटवार्ता गरेको थियो ।nepaliheadlines

Write Comment Below: