भारतीय राजदूत रञ्जीत रायलाई मधेसी मोर्चाले देश निकाला गर्न नदिने

काठमाडौं, १६ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले भारतीय राजदूतर राञ्जीत रायविरुद्ध संसदमा आवाज उठेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
उहाँले भारतीय प्रतिनिधिलाई संसदमा केही दलका सांसदहरूले देश निकाला गर्न माग गरेकोप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।
‘भारतीय सरकारको प्रतिनिधिविरुद्ध संसदमा जे पनि बोल्न पाइँदैन’, अध्यक्ष यादवले चेतावनी शैलीमा भन्नुभयो, ‘भारतीय राजदूतलाई फिर्ता पठाउने कुनै कारण देखेको छैन ।’
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (बुधबार) बिहान कुरा गर्दै अध्यक्ष रायले भन्नुभयो, ‘उहाँ भारतीय प्रतिनिधि हो ।
समस्या छ भने कुटनीतिक पहल गर्नुपर्छ । मन लागेन भनेर जे पनि गर्ने ?’ उहाँले भारतीय राजदूत रायको विरोधमा बोल्दा कुटनीतिक विषयलाई पनि ख्याल गरेर अभिव्यक्ति दिन प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरूलाई चेतावनी दिनुभएको छ ।
नेपालका राजनीतिक दलका नेताहरू भारतमा गएर आफ्ना स्वार्थपूर्तिका लागि लम्पसार पर्ने गरेको भन्दै यादवले भन्नुभयो, ‘अहिले मन परेन भन्दैमा भारतीय राजदूत रञ्जीत रायलाई देश निकाला गर्ने माग जायज छैन ।’
‘भारतमा गएर भारतीय नेता समक्ष यहाँको नेताहरू लम्पसार पर्ने । चाहिएको चिज लिने’, उहाँले भन्नुभयो, ‘अहिले विरोध गर्न पाइँदैन ।’
अध्यक्ष यादवले भारतीय राजदूत रञ्जीत रायका पक्षमा मधेसी मोर्चा रहेको बताउनुभयो । उहाँले भारतीय राजदूत रायको पक्षमा रहने उल्लेख गर्नुभएको छ ।
मंगलबारको संसद बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसदहरूले भारतीय राजदूत रायलाई कुटनीतिक मर्यादा विपरितका कार्य गरेको र नेपालमा राजनीतिक हस्तक्षेप गरेको भन्दै देश निकाला गर्न माग गरेर नारावाजी गरेका थिए ।
त्यसको विरोध गर्दै मधेसी मोर्चाले भारतीय राजदूतको पक्षमा अभिव्यक्ति दिएको छ ।
dainiknepal

Write Comment Below: