तीन दिनदेखि लाइनमा बसेपछि ग्याँस बिक्रेता संघले भन्यो, ‘ग्याँस बाँड्ने हल्ला मात्रै, लाइनमा नबस्नु होला’

कास्की – पोखरामा खाना पकाउने ग्याँसको चरम अभाव भइरहेका बेला ग्याँस बाँड्ने हल्ला चले पनि लाइनमा बस्नुको कुनै औचित्य नभएको एलपी ग्याँस विक्रेता संघ कास्कीले जनाएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रदेखि शान्तिवन वाटिकासम्म ग्याँस पाउने आशामा भन्दै उपभोक्ताहरु केही दिनदेखि दिन रात नभनी लाइनमा बसेपछि संघको गतराती बसेको बैठकपछि विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।
संघले केही दिन अगाडि पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रवाट आधा सिलिण्डर गृहलक्ष्मी ग्याँस ४ हजार ५ सयवटा वितरण गरेको थियो । पुनः सोही ठाउँमा ग्याँस वितरण हुन्छ भन्ने हल्ल चलेपछि मानिसहरुको घुइँचो लागेको थियो । यद्यपि, संघले हिजो लाइनमा वस्नुको कुनै आधार नभएको बताएको छ । संघले पोखरामा ग्याँस वितरण गर्ने तयारी भएपछि ग्याँस विक्रेताहरु मार्फत विगतमा भै रहेको वितरण प्रणाली अनुसार स्थानीय डिलरहरुबाटै ग्याँस वितरण गरिने भन्दै वरु स्थानीय डिलर कै सम्पर्कमा रहन सर्वसाधारण उपभोक्तालाई अपील गरेको छ । ग्याँस वितरण गर्ने सूचना स्थानीय मिडियामार्फत नै सार्वजनिक हुने भएकोले हल्लाको पछाडि लागेर दुःख नपाउन समेत संघले सबैमा आग्रह गरेको छ । पोखरामा चलेका शक्ति र गृहलक्ष्मी ग्याँस अबदेखि सम्बन्धित ग्याँस कम्पनीका आधिकारीक विक्रेता मार्फत नै बिक्री गरिने समेत संघले जनाएको छ । यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा एलपी ग्याँस विक्रेता संघ कास्कीका अध्यक्ष नारायणप्रसाद पौडेल, शक्ति ग्याँस प्रालिका निर्देशक मेघराज पौडेल र गृहलक्ष्मी ग्याँस प्रालिका अध्यक्ष धर्मराज बर्तौला रहेका छन् । यता कास्कीमा केही ग्याँसका वुलेट थपिने वित्तिकै ग्याँस वाँडिने जिल्ला इन्धन आपूर्ति व्यवस्थापन समितिले जनाएको छ । ‘अहिले तत्काल ग्याँस वाँड्ने निधो गरिएको छैन,’ कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भने ।ratopati

Write Comment Below: