रिपोर्टर्स क्लब नेपालले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘कांग्रेस र एमालेसहितका ठूला दलले गरेको आन्दोलन त उठ्न चार वर्ष लाग्यो भने अहिले मधेसीले भन्ने वित्तिकै आन्दोलन भयो भन्ने मलाई विश्वास लाग्दैन । मलाई मधेसीले आन्दोलन गरे भन्ने लाग्दैन । यसभित्र ठूलो षडयन्त्र छ । भारतको समर्थन विना यसरी आन्दोलन चर्किदैन ।’
नेतृ कोइरालाले राजेन्द्र महतोले हामी कुनै पनि कुरामा भारतसँग सल्लाह गरेर मात्रै गर्छौ भनेर भन्नु र आफूलाई कार्यकर्ताहरूले भारतीयहरू आन्दोलन गर्न धमाधम आएको भनि जानकारी दिनुले यसमा भारतको समर्थन रहेको देखिने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली जनताले गरेर मधेस आन्दोलन भएको होइन । मोर्चाले यत्रो आन्दोलन गर्नै सक्दैन । यसमा धेरै चलखेल छ । अहिलेको अडान राख्ने तरिकाले समस्या समाधान हुँदैन । मधेसी जनताले धैर्य राख्न सक्नु पर्छ ।’
अहिले नै सीमाङ्कन टुङगिएर समस्या समाधान हुने आफूले नदेखेको भन्दै सुनसरी र मोरङ्गका जनताले आफ्नो जिल्ला टुक्राए कडा आन्दोलन गर्ने कांग्रेस नेतृ कोइरालाले गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुनसरी, मोरङ्गका जनताले हामी टुक्रिदैनौ, दुई नम्बर प्रदेशमा जान्नौ भनेका छन् । त्यो भए ठूलो आन्दोलन हुन्छ ।’
नेतृ कोइरालाले नेपाली कांग्रेसले दर्ता गराएको संशोधन प्रस्ताव अगाडि बढाएपछि मधेसी मोर्चाको आन्दोलन रोकिन्छ कि रोकिदैन, नाकाबन्दी खुल्छ कि खुल्दै भन्ने कुरा महत्वपूर्ण हुनेभन्दै सरकार कडा रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
उहाँले सीमाङकन अहिले टुङ्गिन नसक्ने भन्दै अहिले नै टुङग्याउन खोजे अर्को ठूलो आन्दोलन हुने चेतावनी दिनुभयो ।
नेतृ कोइरालाले गिरिजाप्रसाद कोइरालाले भने जस्तो पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउँदा राम्रो हुनेभन्दै मधेसमा दुई प्रदेश जनताले नचाहेको दावी गर्नुभयो ।
dainiknepal
