भारतीय विदेश मन्त्रालयले गर्ने नियमित प्रेस–ब्रिफिङमा प्रवक्ता विकास स्वरुपले धर्नाकारीहरुको अवरोधका कारण नेपाल–भारत ब्यापारमा दुई तिहाइ भार बेहोरेर बसेको प्रमुख नाका रक्सौल (वीरगंज)मा अड्किएर बसेका औषधि बोकेका बाहनलाई ‘रि–रुट’ गर्दै अरु सहज आवागमन भइरहेका नाकाबाट नेपाल लग्न सकिने बताए ।
‘यो अहिले देखिएको समस्या पनि भारतका कारण उब्जिएको होइन, भारतले कुनै प्रकारको नाकाबन्दी गरेको छैन, न घोषित न अघोषित,’ भारतले राख्दै आएको पुरानै अडान दोहोर्याउँदै प्रवक्ताले भने, ‘नेपालको मधेशकेन्द्रित आन्दोलन र सिमावर्ती नाकामा जारी रहेको बाधा/अवरोधले गर्दा सहज आपुर्तीमा समस्या उब्जिएको हो । यसैको अर्को क्रममा अहिले औषधिजन्य सामग्रीको अभाव देखिएको हो ।’
प्रवक्ताले नेपालमा देखिएको समस्यालाई ‘बिशुद्ध राजनीतिक’ भन्दै नेपालको यो आन्तरिक मामला रहेकाले नेपाली नेतृत्वले आन्दोलनरत पक्षसँग संवाद गरेरै समस्या समाधान गर्नुपर्ने धारणा दोहोर्याए । ‘आन्दोलनकारीका सरोकार सम्बोधन गर्नमा राजनीतिक नेतृत्व सफल भएमा सबै स्थिति सहज बनेर जानेछ भन्ने हामीलाई लागेको छ,’ प्रवक्ता स्वरुपले भने । उनले नाकाकेन्द्रित बाधा/अवरोध नभएका सुनौली (भैरवहा) र पानीट्यांकी (काँकडभिट्टा) नाकाबाट इन्धनसहितका दैनिक ४ देखि ८ सय ट्रक नेपाल ढुवानी भैरहेको जानकारी दिए ।
दुई साताअघि मात्रै रक्सौल नाकामा अड्किएका ग्याँस–बुलेटलाई ‘रि–रुट’ गरेर नेपाल लगिएझैं औषधी बोकेका बाहन पनि नाका परिवर्तन गर्दै लैजान सकिने उनको सुझाव थियो । उनका अनुसार बिभिन्न नाकामा देखिएको बाधा/अवरोधका कारण ६ हजारभन्दा बढी लोडेड–ट्रक सिमावर्ती नाकामा थन्किएर बसेको र यसमा ४ हजार ७ सयभन्दा बढी रक्सौलमा मात्रै अड्किएका छन् ।
नेपालमा देखिएको इन्धन समस्या सुल्झाउन नेपालले हालै चीन तथा बंगालादेशसँग ‘अप्रोच’ गरिरहेको सन्दर्भमा राखिएको अर्को एक जिज्ञासामा प्रवक्ता स्वरुपले भने, ‘अहिलेको राजनीतिक समस्या सुल्झाउन नेपालले कुनै मुलुकसँग ‘अप्रोच’ गरिरहनुपर्दैन, बरु आफ्नै जनतासँग ‘अप्रोच’ गर्नुपर्छ ।’
kantipur.ekantipur
