निर्णायक भनिएको वार्तामा केही भएन

काठमाडौं: आन्दोलनरत मधेसी मोर्चा र सत्ता गठबन्धनबीच बुधबार बेलुका सिंहदरबारमा भएको वार्ता एक घन्टामै सकिएको छ।

प्रमुख प्रतिपक्षी कांग्रेस अनुपस्थित रहेकोले वार्तामा खासै छलफल भएन। कांग्रेससँग छलफल गरेर निर्णायक वार्ता गर्ने भन्दै बुधबारको वार्ता टुंगिएको छ। चार बजे सुरु गर्ने भनिएको वार्ता कांग्रेसलाई प्रतिक्षा गर्दा पाँच बजे मात्रै सुरु भएको थियो र छ बजे सकिएको थियो।

प्रचण्डकै पहलमा बोलाइएको वार्तामा वार्तामा मधेस आन्दोलन, संविधान संशोधन, सिमांकनलगायतका विषयमा मोर्चा, एमाले र एमाओवादीका नेताहरुबीच सामान्य छलफल भएको थियो। मधेसी मोर्चा र तीन दलबीच विभिन्न चरणमा भएको अनौपचारिक छलफल सकारात्मक रहेकोले आजको वार्ता महत्वपूर्ण हुने बताइएको थियो।

आजको वार्ता उच्चस्तरीय राजनीतिक समितिका संयोजक रहेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राखेको प्रस्तावमा केन्द्रित भएको छ।प्रचण्डले कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशीको प्रतिनिधित्वसम्बन्धी विधेयकलाई मधेसी मोर्चासमेतको सहमतिमा अघि बढाउने, तराईमा दुई प्रदेश रहने गरी सिमांकनको मुद्दालाई टुंगो लगाउन मधेसी मोर्चासमेतको सर्वदलीय संयन्त्र बनाउने र विवादित जिल्लाको सीमा टुंगो लगाउने जिम्मा संघीय आयोगलाई दिने प्रस्ताव अघि सारेका छन् । यो प्रस्तावमा मधेसी मोर्चा केही सकारात्मक देखिएका छन्।

निर्णयक वार्ताअघि दलहरु आन्तरिक र दुई पक्षीय छलफलमा बुधबार बिहानदेखि नै जुटेका थिए । एमाओवादीको पदाधिकारी बैठक बसेको थियो भने कांग्रेस वरिष्ठ नेताहरुबीच पनि अनौपचारिक छलफल भएको थियो। त्यसैगरी बुधबार बिहान बालुवाटारमा पनि मधेसी मोर्चासँगको वार्ताको एजेन्डा र रणनीतिबारे छलफल भएको थियो। annapurnapost

Write Comment Below: