बन्द हड्तालमा बालबालिकाको प्रयोग नगर्न आग्रह

११ मंसिर, काठमाडौँ।

राष्ट्रिय मानव अधिकार आयोगले धर्ना, विरोध प्रदर्शन, सभालगायतमा बालबालिकाको प्रयोग गर्न नपाइने भनिए पनि विगत केही समययता बालबालिकाको प्रयोग बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज एक विज्ञप्ति जारी गरी शिक्षण संस्थाको छाता सङ्गठनले आजै गरेको मानव साङ्लोमा विद्यालयमा अध्ययनरत बालबालिकाको प्रयोग गरिएको आयोगको अनुगमनबाट पाइएको उल्लेख छ ।



बन्द हड्तालका कार्यक्रममा बालबालिकाको निरन्तर प्रयोग गर्दा हुने जोखिमलाई ध्यानमा राखी बालअधिकार सुनिश्चित गर्न आयोगले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

निर्वाधरुपमा विद्यालय जान पाउने र भयमुक्त वातावरणमा पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकार भएकाले कुनै पनि संस्था वा राजनीतिक दलले आयोजना गर्ने कुनैपनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न आयोग आग्रह गरेको छ ।

‘बाँच्न र पढ्न देउ’ भन्ने नाराका साथ विद्यार्थीले २७ किलोमिटर लामो चक्रपथमा प्रदर्शन गरेका थिए ।
बन्द हड्तालजस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्नु बालअधिकारसम्बन्धी महासन्धि तथा बालबालिकासम्बन्धी ऐन, २०४८ विपरीत काम भएको विज्ञप्तिमा उल्लेख छ । nepaliheadlines

Write Comment Below: