बिहान ६ बजे हेमपुरस्थित घरबाटा साथीसँगै मर्निङ वाकमा निस्केका उनको निमर्मतापूर्वक हत्या भएको हो । घरबाट निस्केको १५ मिनेटमै घर नजिकैको नहरमा आक्रमणकारीले उनको अनुहारमा खुर्सानीको धुलो हानेका थिए ।
त्यसलगत्तै धारिलो हतियार हानेर हत्या गरिएको प्रहरीले जनाएको छ । उनको घाँटी र चोटमा गहिरो चोट भेटिएको छ । घटनास्थलमा हत्याराहरुको टोपी, घाँटीमा झुण्ड्याउने लकेट र सलाइको डब्बा प्रमाणका रुपमा भेटिएको छ ।
६५ बर्षका यादव एमालेका जिल्ला कमिटी सदस्य हुन् । उनी दुईपटकसम्म हेमपुर गाविसको अध्यक्ष भएकाथिए । यो भन्दा पहिले सर्लाही नम्बर दुईका क्षेत्रीय अध्यक्ष बनेका यादव एमालेले संविधानसभा निर्वाचनमा टिकट नदिएपछि संघीय समाजवादीमा प्रवेश गरेका थिए । चुनाव लगत्तै एमालेमा फर्किएर उनी फेरि सक्रिय राजनीति थालेका थिए । सात महिना अघि मात्रै एमालेले उनलाई जिल्ला कमिटी सदस्य मनोनित गरेको थियो ।
किन भयो हत्या ?
घटनाको गाम्भीर्यतालाई बुझ्दै प्रहरीले उच्चस्तरीय छानबिन थालेको छ । सर्लाहीका एसपी केदार ढकालले घटनामा आपराधिक, राजनीतिक र रिसइबी साँध्ने हिसाबले भएको हुनसक्ने आशंका गरेका छन् ।
तर, सप्तरीका एमालेका नेताहरुले भने राजनीतिक पूर्वाग्रहका कारण तराईमा सक्रिय आपराधिक समूहलाई प्रयोग गरी यादवको हत्या गरिएको हुनसक्ने आशंका गरेका छन्। सर्लाहीका अधिकांश नेताहरु मधेशी मोर्चाको आन्दोलनपछि मनोबैज्ञानिक त्रासमा थिए । उनीहरुमाथि मधेशी मोर्चाको आन्दोलनलाई साथ नदिएको आरोपमा पटकपटक धम्कीहरु आउने गरेका थियो । घटनाको पछाडि राजनीतिक कारा नै मुख्य भएको हुनसक्ने एमाले नेताहरुको दाबी छ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले घटनाको कडा निन्दा गर्दै सम्पूर्ण तागत लगाएर भएपनि हत्याराहरुलाई गिरफ्तार गरी कारवाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । ‘कमरेड रामनरेश राय तराई÷मधेस क्षेत्रमा नेकपा (एमाले)को बलियो खम्बा हुनुहुन्थ्यो । पछिल्लो समयमा नेपाल राष्ट्र, नेपालको संविधान र राष्ट्रिय एकताका सन्दर्भमा फैलाइएका गलत भ्रमहरु चिर्न र आम जनतालाई वास्तविक कुरा बुझाउन सक्रियतापूर्वक लाग्नुभएको थियो । गत मंसिर २१ र २२ गते चितवनको सौराहामा सम्पन्न भएको पार्टीको राष्ट्रिय भेलामा समेत सहभागी भई तराई–मधेसको वास्तविकताका बारेमा स्पष्ट कुरा राख्नुभएको थियो ।,’ महासचिव पोखरेलबाट जारी विज्ञिप्तिमा भनिएको छ– ‘पछिल्ला दिनमा तराई–मधेसमा बिग्रदो शान्ति सुरक्षाको अवस्था तथा जनताले भोग्नु परिरहेको असुरक्षाको बारेमा ठोस कदम चाल्न सरकारसमक्ष माग गर्दछ ।’
यादव पार्टीको जिल्ला कमिटी सदस्य साथै जिल्ला विकास समितिको पूर्व सदस्यका रुपमा नेकपा (एमाले)को विचार र संगठन विस्तारमा सक्रिय थिए । उनी हेमपुर क्षेत्रमा लोकप्रिय समाजसेवीका रुपमा समेत परिचित थिए । – सर्लाहीबाट चुडामणि वाग्लेको सहयोगमा
dainiknepal
