झलारी (कञ्चनपुर), १३ पुस । युवा संघ नेपालले सुरु गरेको तराई मधेश जागरण सद्भाव अभियानको सोमबार झलारीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले मधेशकेन्द्रित दलका नेताहरु भारतबाट परिचालित भएको आरोप लगाउनुभएको छ ।
‘न्याय प्रेमी युवाहरु युव संघमा, समाजिक परिवर्तन युवाको काधँमा’ भन्ने मुल नारा बोेकेर तराईका २२ जिल्लाहरुमा युवा संघले गरेको जागरण अभियानमा ‘हिमाल पहाड तराई कोही छैन पराई’ भन्ने जस्ता नाराहरुका साथ विभिन्न स्थानमा जागरण तथा सदभाव सभाहरुको आयोजना भैरहेको युवा संघ नेपालले बताएको छ ।
झलारीपिपलाडी नगरपालिकाको झलारी खुल्ला मञ्चमा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले मधेशकेन्द्रित केही नेताहरुले देश विखण्डन गर्न खोजेकाले तिनलाई सरकारलाई आजिवन कारावासको सजाय गर्न माग गर्दै सरकारले कारबाही नगरे युवा संघले कारबाही गर्ने चेतावनी दिनुभयो ।
‘जाती, धर्म र सम्प्रदायको आधारमा देश विखण्डन कुनै हालतमा हुन दिने छैनौ, यदि त्यसो हुन लागे युवा संघका युवाहरु रगतको खोलो बगाएर शहिद हुन तयार छन,’ अध्यक्ष पहाडीले भन्नुभयो । मधेस केन्द्रित दलका नेताहरुले देशलाई सिक्कीमिकरण र फिजिकरण गर्न लागेको उहाँको आरोप छ ।
अधिकाशं भारत र मधेसी दलका नेताहरुको आलोचना गर्नुभएका अध्यक्ष पहाडीले वर्तमान संविधान सबै पक्षको मैत्रि संविधान भएको दाबी गर्नुभयो । उहाँले तराई मधेसमा बस्नेहरु संग दोहरो नागरिता भएको र त्यसको छानविन गर्न सरकारसंग माग गर्नुभयो ।
खास गरि तराईका ९ जिल्लामा चलिरहेको मधेसीहरुको आन्दोलनपछि युवा संघले सर्लाहीको हरिवनबाट जागरण तथा सदभाव अभियानको सुरुवात गरेको थियो । झलारीमा भएको सदभाव अभियान कार्यक्रममा एमालेका महाकाली ईन्चार्ज रामकुमार ज्ञवालीले नेपाली कांग्रेसको सरकारकै पालामा मधेसमा आन्दोलन भएको बताउदै आन्दोलनको दोषी कांग्रेस भएको आरोप लगाउनुभयो ।
कार्यक्रममा युवा संघका केन्द्रिय कमिटिका सचिव अशोक चन्दले सरकारले पुरा गर्न सक्ने मागहरु पुरा गर्न तयार रहेकाले आफ्ना समस्या भन्न आग्रह गर्नुभयो । कार्यक्रममा केन्द्रिय लेखा समितिका सदस्य ईश्वरी प्रसाद खरेलले युवा संघले संविधानका विषयमा जागरण अभियान गरेकोप्रति सराहना गर्नुभयो । युवा अभियानले संविधानका विषयमा जनतालाई जागरुक बनाउको अर्का सचिव माधव बास्तोलाले बताउनुभयो ।
युवा संघको अभियानमा बोल्दै केन्द्रिय सचिव बचन बहादुर सिंहले मधेसीहरुले गरेको आन्दोलन मधेस विरोधी भएको बताउनुभयो । उहाँले ‘मधेसमा भैरहेको आन्दोलन मधेसी नेताहरुमात्रै नभएर त्यस क्षेत्रका जनताहरुका लागि पनि घातक भएको छ भन्नुभयो । सचिव सिंहले ‘नेपाली कांग्रेसले विभिन्न समयमा राष्ट्रघाती सन्धी र सम्झैता गरेको छ । अहिले पनि नागरिकताका विषयमा कांग्रेसले लचिलो हुनुपर्ने कुरा ल्याएको छ । यो उसका लागी घातक विषय बन्ने छ ।’ भन्नुभयो ।
विशेष गरि तराईका ९ जिल्लामा युवा संघले चलाएको जागरण अभियानमा एमालेका कार्यकर्ताहरुको ठूलो संख्यामा सहभागिता रहेको छ । युवा संघका स्थाई कमिटी सदस्य प्रभात विक्रम कटुवालले अब मधेशको समस्या चाडै समाधान हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । झलारीको खुल्ला मञ्चमा भएको कार्यक्रममा एमालेका स्थानीय नेता मायाराम चौधरीले पश्चिममा थारु समुदायका केही नेताहरुले थरुहटका नाममा गरेको आन्दोलनको कुनै औचित्य नभएको बताउनुभयो । उहाँले ‘थरुहटको आन्दोलन गलत हो, हामी एक मधेस एक प्रदेश मान्न तयार छौनौ, यस क्षेत्रमा थारुलाई पछाडी पार्न आन्दोलन भएको हो,’ भन्नुभयो ।
कार्यक्रमलाई सभासद कृपाराम रानाले सम्बोधन गर्दै वर्तमान संविधान गणतन्त्र, समावेशी, संघियता सहितको भएकोले जारी भएको संविधान उत्कृष्ट रहेको बताउनुभयो । उहाँले संविधानमा सबै क्षेत्रका हक अधिकार समेटिएको बताउदै कुनै हक अधिकार नसमेटिएका भए अझै पनि संविधानमा समेटन सकिने बताउनुभयो ।
युवा संघ नेपाल कञ्चनपुरका जिल्ला अध्यक्ष जनक शाहीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जातजातीको झाँकी तथा नृत्य राखिएको थियो । कार्यक्रममा नन्दकुमार रानाले अतिथिहरुको स्वागत गर्नुभएको थियो । कार्यक्रममा एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
