इन्धन वितरणका लागि सफ्टवेयरको समेत प्रयोग गरिने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सोही सफ्टवेयरको आधारमा निजी सवारीलाई इन्धन वितरण गरिने मन्त्रालयले जनाएको छ। ‘इन्धनको मौज्दातअनुसार निजीलाई वितरण गर्ने योजना बनाएका छौं,’ आपूर्तिमन्त्री गणेशमान पुनले भने, ‘सफ्टवेयरको माध्यमबाट उपभोक्तालाई सूचना दिने छौं।’
मन्त्रालयका अनुसार सफ्टवेयरले कुन/कुन सवारी साधनले पाउने/ नपाउने जानकारी गराउँछ। यसले दोहोरिने क्रम रोकिने मन्त्रालयको ठहर छ। तर, कुन दिन र कति परिमाणमा इन्धन वितरण गर्ने बारेमा भने निर्णय भइसकेको छैन। वितरण गर्ने मितिलगायत परिमाण पनि छिट्टै तोकिने मन्त्रालयले जनाएको छ।
‘अर्को साता निजी सवारीलाई इन्धन वितरण गर्ने योजना भए पनि कुन दिनबाट दिने र कति परिमाणमा दिने निर्णय भइसकेको छैन,’ मन्त्रालयका आपूर्ति, वितरण तथा संस्थान शाखाका उपसचिव शिवप्रसाद त्रिपाठीले भने, ‘अहिले केही परिमाणमा इन्धन भित्रिएको छ। जसले गर्दा निजीलाई पनि दिने योजना छ।’ यसका लागि छिट्टै बैठक बसी योजना बनाइने उनले बताए। चीन सरकारले अनुदानको इन्धन उपलब्ध गराएपछि निगमले तिहारअघि पनि निजीलाई इन्धन वितरण गरेको थियो।
तिहारमा करिब १२ लाख लिटर पेट्रोल निजी सवारीलाई वितरण भएको थियो। तिहारअघि ३ दिन निजी सवारी साधनलाई पेट्रोल दिएको थियो। निजी सवारी साधन मोटरसाइकल/कार/जिपको लटअनुसार पेट्रोल वितरण भएको थियो। निजी सवारीलाई वितरण गर्ने दिनमा कालो प्लेटका सार्वजनिक र सेतो प्लेटका सरकारी सवारीलाइ भने वितरण गरिएको थिएन।
पहिलो दिनमा १ देखि ३० लट, दोस्रोमा ३१ देखि ५० लट र तेस्रो दिनमा ५० देखि माथि लटका मोटरसाइकलहरूलाई वितरण गरिएको थियो। कार/जिपको हकमा पहिलो दिनमा १ देखि ५ लट दोस्रो दिनमा ६ देखि ९ र तेस्रो दिनमा ९ देखि माथिका कार/जिपलाई वितरण गरिएको थियो।
लटअनुसार इन्धन वितरण गर्दा पनि सबै निजी सवारीले पाएका थिएनन्। यस्तै, दसैंअघि दसैं लक्षित सर्वसाधरणका लागि भनेर एक दिन मात्रै निजी सवारीलाई इन्धन वितरण गरिएको थियो। त्यस दिन निगमले ६ लाख लिटर इन्धन वितरण गरेको थियो।
एक दिन मात्रै इन्धन वितरण गर्दा लाइन बसेका ६० प्रतिशतले पाउन सकेका थिएनन्। बिनाकार्ययोजना वितरण हुँदा पहुँचवालाले इन्धन पाए पनि सर्वसाधारणले दु:ख पाएको सरोकारवालाहरूले बताएका थिए। कतिपय ठाउँमा निगमले ८ बजेपश्चात पम्पलाई इन्धन वितरण गरेको थियो। ढिलासम्म पम्पले इन्धन नपाउँदा कतिपय उपभोक्ता घर फर्केका थिए।
अहिले भने वितरणलाई व्यवस्थित बनाउन सफ्टवेयर तयार गरेको निगका थानकोट डिपो प्रमुख रविनकुमार शर्माले बताए। शर्माका अनुसार सफ्टवेयरले उपभोक्तालाई इन्धन वितरण गर्ने पम्पको नाम, समय, दिन लगायतको जानकारी एसएमएसमार्फत उपलब्ध गराउँछ।
सफ्टवेयरको परीक्षण गरिसकेको उनले बताए। ‘सफ्टवेयर बनाएपछि पुलचोक स्थित साझा पेट्रोल पम्पबाट परीक्षण गरिसकेका छौं,’ उनले भने, ‘यो धेरै फलदायी हुने छ। सफ्टवेयरले उपभोक्ताको भिड नियन्त्रमा सहज गर्ने छ।’ निगमका अनुसार चीनबाट अनुदानको इन्धन आइसकेको छ। थप अनुदानका लागि पनि पहल गरिएको छ। यस्तै, केही नाकाबाट पनि भित्रिएकाले निजीलाई पनि वितरण गर्न लागेको जनाएको छ।
kantipur.ekantipur
