दिल्ली र लोकमानको दबाबबीच आयल निगमबाट खड्कालाई किक हान्ने गणेशमानको तयारी

काठमाण्डु, १६ मंसिर– सरकार अन्ततः नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेरै छाड्ने निष्कर्षमा पुगेको छ ।

निगम सञ्चालक समितिले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै सरकारले खड्कालाई बर्खास्त गर्न लागेको हो । स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले त्यससम्बन्धी प्रस्ताव लैजाने तयारी गरेका छन् ।
‘खड्काले दिएको स्पष्टीकरण सरकारलाई चित्त बुझेको छैन’, बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन निकट स्रोतले काठमाण्डु टुडेसँग भन्यो, ‘केही एक÷दुई दिनभित्रै उनलाई हटाउने निर्णय हुन्छ ।’
संकटका बेला तोक आदेशमा इन्धन वितरण गरेर संस्थागत रुपमै कालोबजारी गरेको, दसैंका बेला १५ दिनका लागि इन्धन आयात गर्न विराट आयललाई नियमविपरीत अनुमति दिएको लगायत विषयमा निगम सञ्चालक समितिले स्पष्टीकरण सोधेको थियो ।
निगमले तेल ल्याउन गरेको ग्लोबल टेण्डरका आधारमा २२ कम्पनीले आवेदन दिएका थिए । तर विराटका सञ्चालकसँगको मिलेमतोमा महंगोमा तेल ल्याउन अनुमति दिएपछि खड्का विवादमा तानिएका थिए । त्यस प्रकरणमा संसदको लेखा समितिले समेत खड्कामाथि कारबाही सिफारिस गरेको थियो ।
खड्काले सोमबार निगम सञ्चालक समिति समक्ष स्पष्टीकरण बुझाएको बताइएको छ । मन्त्रालय स्रोतका अनुसार आफूमाथि लागेको आरोपको बचाउ गर्दै खड्काले सबै काम नियम र प्रक्रिया सम्मत ढंगले भएको जिकिर गरेका छन् ।
यद्यपि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने पत्रकार सम्मेलन नै गरेर मन्त्रीको निजी सचिवालयले खड्कालाई नियमविपरीत स्पष्टीकरण सोधेको भन्दै आक्रोश व्यक्त गरेको थियो । खड्का नाताले अख्तियार प्रमुख लोकमानसिंह कार्कीका सम्धी हुन् ।
खड्कालाई बर्खास्तीमा पर्नबाट जोगाउन लोकमान आफैं भित्रभित्रै सक्रिय छन् । त्यसो त खड्काले आफूलाई हटाउनबाट रोक्न दक्षिण छिमेकी भारतको च्यानलसमेत प्रयोग गरेका छन् ।
सरकारले भारतीय नाकाबन्दीपछि चीनसहित अन्य मुलुकबाट इन्धन ढुवानी प्रक्रिया अघि बढाएपछि खड्का त्यसविरुद्ध लविङ गर्दै हिंडेका थिए ।
kathmandutoday

Write Comment Below: