काठमाडौं । भारतले लगाएको नाकाबन्दीका कारण इन्धन अभावमा रहेका जनता थप मारमा पर्ने भएका छन् । हिटर लगायतका अन्य उपकरण प्रयोग गर्नेहरु समस्या पर्ने भएका हुन् ।
विद्युत प्रधिकरणले भार थेग्न नसकेको भन्दै लोडसेडिङ बढाएको छ । विद्युत प्रणाली भार अत्याधिक वृद्धि भएको, भूकम्पका कारण क्षति भएका विदुत गृह सञ्चालन हुन नसकेको तथा नदीमा पानीको सतह घटेकाले लोडसेडिङको समय बढाइएको प्राधिकरणले जनाएको छ । अबदेखि हप्तामा ५६ घण्टा बिजुली नआउने प्रधिकरणले जनाएको छ ।
नयाँ तालिका अनुसार अब हप्तामा दुई तीन सात घण्टा, तीन दिन आठ घण्टा र दुई दिन नौ घण्टा बिजुली आउने छैन । हप्ताको पाँच दिन दुई पटक तथा दुई दिन तीन पटक लोडसेडिङ हुनेछ ।
कोलहपुरसहित पश्चिम क्षेत्र र ढल्केवर–अनारमणी क्षेत्रबाट विद्युत आपूर्ति हुने क्षेत्रका लागि लोडसेडिङ तालिका पछि प्रकाशित गरिने प्रधिकरणले जनाएको छ । नयाँ लोडसेडिङ तालिका शुक्रबारदेखि लागु हुने प्राधिकरणले जनाएको छ ।
औद्योगिक क्षेत्रका लागि तालिका
प्राधिकरणले चन्द्रनिगाहपुर–लमही क्षेत्रबाट विद्युत आपूर्ति हुने औद्योगिक क्षेत्रका लागि छुट्टै लोडसेडिङ तालिका बनाएको छ । हेटौंडा, सोनापुर, घोराही तथा शिवम सिमेन्टमा हरेक दिन बेलुका पाँच बजेदेखि बिहान पाँच बजेसम्म १२ घण्टा लोडसेडिङ हुनेछ ।
६६ केभीबाट विद्युत आपूर्ति भएका औद्योगिक क्षेत्रमा हरेक दिन दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।
यस्तै ३३ केभी र ११ केभीबाट विद्युत आपूर्ति हुने औद्योगिक क्षेत्रमा हरेक दिन बेलुका पाँच बजेदेखि बिहान पाँच बजेसम्म बिजुली आउने छैन । सरकारी औद्योगिक क्षेत्रमा भने हरेक दिन बेलुका पाँच बजेदेखि बिहान तीन बजेसम्म १० घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।
nepalsandesh
