यी डिएसपीलाई शक्ति बस्नेतले के गर्लान ?

काडमाडौं – कांग्रेस एमालेले एकलौटी संविधान घोषणा गर्न लागेको भन्दै एमाओवादी नेतृत्वको मोर्चाले ०७१ फागुन र चैतमा सडक र सदनको आन्दोलनलाई शसक्त बनाउँदै थियो । यसबीचमा केही दिन नेपाल बन्द भयो, केही दिन उपत्यका बन्द । यता, संविधानसभा भवन आसपासमा भने लगातार प्रदर्शनहरु भइरहे । त्यसैक्रममा मोर्चाले चैत्र २४ गते उपत्यका बन्दको आयोजना गरेको थियो । सो बन्द सफल पार्न एमाओवादीका कार्यकर्ताहरु राजधानीको बिजुलीबजारमा जम्मा भए ।

बिहानै बिजुलीबजारबाट करिब एकदर्जन एमाओवादीका कार्यकर्ता पक्राउ परे, उनीहरुलाई महनगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको थियो । बानेश्वर वृतका डिएसपी दानबहादुर कार्कीको नेतृत्वमा पक्राउ परेका एमाओवादीका अगुवा कार्यकर्तालाई बानेश्वरबाट महेन्द्र पुलिस क्लबतिर लैजाँदै गर्दा बिजुलीबजारमा एमाओवादीसहित ३० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।

त्यतिवेला आन्दोलनकारीहरुलाई बानेश्वरबाट अनामनगर हुँदै महेन्द्र पुलिस क्लवमा लैजान सकिने भए पनि डिएसपी दानबहादुर कार्कीले ‘यिनका अनुहार मैले देखेको छु’ भन्दै बिजुलीबजारकै बाटोबाट भ्यान ल्याउन आदेश दिएका थिए ।
त्यसदिन एमाओवादी नेतृत्वको मोर्चा र प्रहरीबीच बिजुलीबजारमा पटक–पटक झडप भयो । आन्दोलनकारीले प्रहरी भ्यान रोक्न खोजेपछि माओवादीलाई डिएसपी कार्कीले अपशब्द प्रयोग गरे ।

दिनभरको आन्दोलनपछि साँझ पाँच बजेतिर बिजुलीबजारमा आयोजित कोणसभालाई संवोधन गर्न पुगेका एमाओवादी स्थायी समिती सदस्य बर्षमान पुन अनन्तले डिएसपी कार्कीप्रति संकेत गर्दै उनलाई आफ्नो सरकार आएपछि कारवाही गर्ने चेतावनी दिएका थिए । त्यतिवेला अनन्तले भनेका थिए, ‘केही डिएसपी कुनै पार्टीप्रति भक्तिभाव देखाउँदै छन्, तिनको भोलि लखेटिने अवस्था नआओस्,’ मोर्चाको आन्दोनल दमन गरेको र आफ्ना कार्यकर्ता छानीछानी पक्राउ गरेकोमा आक्रोशित हुँदै अनन्तले प्रश्न गरेका थिए, ‘भोलि हामी पनि सत्तामा आउँछौं, त्यतिबेला के गर्नुहुन्छ ? ख्याल गर्नुस्, जनताको नुन खाएर राजनीति नगर्नुस्, यदि इच्छा छ भने बर्दी खोलेर मैदानमा आउनुस् ।’

त्यतिवेला सत्ताबाहिर रहेको एमाओवादी अहिले सत्तामा पुगेको छ । गृहमन्त्री पनि एमाओवादीकै भागमा परेको छ । गृहमन्त्री बनेका पोलिटब्युरो सदस्य शक्ति बस्नेत पनि त्यतिवेला बिजुलीबजारको आन्दोलनमा डिएसपी कार्कीले नियतवश दमन गरेको बारे जानकार छन् ।

कार्कीले त्यतिवेला आन्दोलन दमन मात्रै गरेनन्, तत्कालीन एमाओवादी नेतृ एवं पूर्वमन्त्री हिसीला यमीलाई अस्वभाविक तरिकाले गिरफ्तार गरेका थिए । महिला प्रहरी साथमा हुँदाहुँदै त्यसरी यमीलाई पक्राउ प्रयत्न गरेकोबारे त्यतिवेला माओवादी वृतमा खुव आलोचना भएको थियो ।

एमाओवादीका एक केन्द्रीय सदस्यले कार्कीलाई ‘एमाले झक्त’ को आरोप लगाउँदै उनलाई गृहमन्त्रीले कारवाही गर्नुपर्ने बताएका छन् । तर, कार्कीलाई शक्ति बस्नेतले माफी दिन्छन् वा अनन्तले चेतावनी दिएजस्तै ‘लखेटिन दिन’ निम्त्याइदिन्छन ? हेर्न बाँकी नै छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
ratopati

Write Comment Below: