इटहरीमा तनावः मधेसी मोर्चा नेता लखेटिए, उपेन्द्र र राजेन्द्रलाई छिर्न नदिन प्रदर्शन

इटहरी, ११ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले इटहरीमा गर्ने भनिएको विरोधसभा विथोल्न स्थानीयहरु स्वतस्फूर्त रुपमा सडकमा उत्रिएपछि इटहरी तनावग्रस्त बनेको छ ।
दिउँसो ११ बजेबाट हुने भनिएको मोर्चाको विरोधसभा अझै सुरु हुन सकेको छैन् । कार्यक्रम स्थल इटहरी–१ को खेतीखोला छेउमा बनाइएको मञ्च बिहानै विद्यार्थीहरुले पेट्रो छर्किएर जलाइसकेका छन् । आगजनीपछि प्रहरीले कार्यक्रम स्थललाई घेरा हालेर सुरक्षा दिइरहेको छ । आगो लगाएपनि मञ्च पुन तयार गरिएको छ । प्रदर्शनकारीले भने सडकको चारैतिर टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको नेतृत्व कसैले लिएको छैन् । जसका कारण स्थिती नियत्रण बाहिर जाने खतरा देखिएको छ ।
उनीहरुले यातायात र बजार समेत बन्द गराएका छन् । ‘उपेन्द्र र राजेन्द्रलाई छिर्न दिन्नौं’ भन्दै इटहरी प्रवेश गर्ने चारैवटा नाकामा टायर बालेर प्रर्दशन गरिरहेका छन् ।
यसैबीच धरानबाट विरोधसभामा सहभागी हुन इटहरी पुगेका मधेसी मोर्चाका नेता कार्यकर्तालाई स्थानीय युवाहरुले लखेटेका छन् । उनीहरुले बोकेको समाजवादीको झण्डा समेत खोसेर जलाई दिएका छन् ।
कार्यक्रम गर्न दिँदा हुन सक्ने मुढभेडलाई रोक्ने विषयमा अहिले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको बैठक इलाका प्रहरी कार्यालय इटहरीमा बसिरहेको छ ।
स्थानीयको प्रदर्शनका कारण उपेन्द्र यादव विराटनगरमा छन् भने अन्य नेताहरु समेत सुनसरी आइसकेका छैनन् । सभालाई महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, कुमार लिङ्देन लगायतले सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो ।
dainiknepal

Write Comment Below: