गृहजिल्ला बागलुङमा आयोजित पत्रकार भेटघाटका क्रममा उपप्रधानमन्त्री केसीले नेपाली आत्मनिर्भर बन्न नसक्दा नाकाबन्दीको मार बढी खेप्नु परेको बताउनुभएको हो ।
एउटामात्र छिमेकी मुलुकसँग भर पर्दा नेपालीले धेरैपटक दुःख पाइरहेको उल्लेख गर्दै केसीले वर्तमान सरकार अन्य छिमेकी मुलुकसँग पनि सम्बन्ध बढाउनेतर्फ लागेको बताउनुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहनुभएका मन्त्री केसीले मुलुक अप्ठ्यारो परेको बेला आफ्नो पार्टी पहिलोपटक सरकारमा सहभागी भएको उल्लेख गर्दै इन्धन, आलु, प्याज र तरकारीको बहानामा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता साट्न नसकिने दावी गर्नुभयो ।
पेट्रोलियम पदार्थ आयातका लागि छिमेकी मुलुक चिन र बंगलादेशसँग सरकारले छलफल अगाडि बढाएको उल्लेख गर्दै मन्त्री केसीले नेपालमा उत्पादन हुने बस्तुहरु समेत आयात गर्नु दुःखद रहेको बताउनुभयो । नेपाल कृषिप्रधान देश भएपनि नेपालमा आलु, प्याज, खुर्सानी समेत भारतबाट आयात हुने गरेको भन्दै केसीले यस अगाडिका शासकहरुले ध्यान दिन नसक्दा यस्तो अवस्था आएको बताउनुभयो ।
नाकाबन्दीपछि नेपाली जनताले गम्भिर पाठ सिकेको उल्लेख गर्दै मन्त्री केसीले मुलुकमा दुष्परिणाम आउँछ भन्ने थाहा पाउँदा पाउँदैपनि शासकहरुले ख्याल नगरेको बताउनुभयो । अब सबै नेपालीलाई आत्मनिर्भर तथा व्यावसायीक बनाउन सरकारले नीति ल्याउने भन्दै आफ्नै बारीमा उत्पादन हुने उपभोग्य बस्तु आयात गर्नुपर्ने वातावरण हटाउनतर्फ लाग्ने केसीले बताउनुभयो ।
dainiknepal
