हालै बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रूपमा नेपालको नयाँ संविधानबारे प्रतिकूल टिप्पणी गरेपछि बेघाको मन कुँडिएको हो । त्यस्तै, नेपालमा भारतद्वारा जारी नाकाबन्दीबारे बेलायत मौन रहेकोमा चित्त दुखेको उनले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले नेपालका बारेमा जारी गरेको संयुक्त विज्ञप्तिप्रति बेघाले असन्तुष्टि जनाए । उनले भारतले बेलायतलाई नेपालका बारेमा गलत व्याख्या गरेर आफ्नो प्रभावमा पार्न खोजेको पनि बताए । उनले भने, ‘बेलायतले पनि नेपालको वास्तविक अवस्था के हो भनेर बुझ्नुपथ्र्यो ।’
भारतीय र बेलायती प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिले आफूजस्ता धेरै बहादुर गोर्खा सिपाहीले बेलायत र भारतका लागि बगाएको रगतपसिनाको सम्मान गर्न नसकेको उनको बुझाइ छ । भारतीयले लगाएको नाकाबन्दीबारे बेलायती मौनताप्रति पनि उनले आपत्ति जनाए ।
दमक नगरपालिका–१३ मा बस्ने रामबहादुर बेघा भी.सी. उपाधि प्राप्त एकमात्र जीवित बेलायती सेनाका ‘लाहुरे’ हुन् । उनले ब्रिटिस गोर्खाको क्याप्टेनबाट अवकाश पाएका थिए । अहिले उनी घरमै बसेर नातिनातिनालाई अराईखटाई गर्छन् र दमक भृकुटी चोकमा रहेको किराँत मन्दिर हेरचार गर्छन् ।
पाँचथर च्याङ्थापुमा जन्मेका ८० वर्षीय बेघा अहिले राम्ररी हिँड्डुल गर्न सक्दैनन् । कान पनि अलि कम सुन्ने भएकाले उनीसँग कुरा गर्न पनि निकै मेहेनत गर्नुपर्छ । तर, उनको शान र हाउभाउमा कमी आएको छैन । शुक्रबार अपराह्न किराँत मन्दिरमा पुग्दा उनको पहिरनले अहिले पनि बेलायती सेनामै पो छन् कि भन्ने आभास दिलायो ।
सन् १९६६ मा बेलायती सेनामा आफू हुँदा तत्कालीन मलाया (हाल मलेसिया) र इन्डोनेसियाबीच घमासान लडाइँ भएको उनले सुनाए । सोही लडाइँमा बहादुरी देखाएका कारण उनले भिक्टोरिया क्रस पाएका थिए । बेघाले भने, ‘दुस्मन (इन्डोनेसिया) का सेनालाई खत्तम गर्ने क्रममा हाम्रो समूह दुस्मनकै सुरुङमा परेछ तर मैले साहसका साथ ग्रिनेट निकालेर फाल्दा दुस्मनका धेरै सैनिक हताहती भए । आफ्ना साथीलाई पनि बचाएँ । त्यही काम गरेबापत मलाई यो उपाधि दिइएको हो ।’
बेलायती सेनामा काम गरेका बेलाका यी अनुभव सनाउँदा बेघा निकै रोमाञ्चित देखिन्थे । तर आफूजस्ता भीसी उपाधि पाउने नेपाली साथी अब कोही पनि संसारमा नरहेको थाहा पाउँदा भने उनी दुःखी देखिन्छन् । उनले भने, ‘जब बेलायतले हङकङ छोड्यो तब गोर्खा पल्टन पनि घटायो, त्यसपछि त भीसी पाउने गोर्खाली त भएनन् भन्दा पनि हुन्छ । अहिले नेपालमा त म एक्लो छु ।’
आफूले बेलायती सेनामा काम गरे पनि नेपाललाई कहिल्यै माया नमारेको उनले बताए । उनले माटोको मायाकै कारण आफू नेपालमै बसेको सुनाए । तर उनी बेलायत जानेआउने भने गरिरहन्छन् । बेघाले भने, ‘कोही बेला दमकमै बस्छु । कोही बेला काठमाडौं बस्छु, बेलामौकामा यूके पनि जान्छु, यस्तै छ ।’
गोर्खाली भएर बेलायती सेनामा काम गर्दा पाएको भीसीले आफूलाई निकै गौरवान्वित बनाएको पनि उनले सुनाए । भारतीय प्रधानमन्त्री मोदीको बेलायत भ्रमणका बेला गोर्खालीले गरेको प्रदर्शन जायज भएको पनि उनले बताए । नेपालविरुद्ध भारतले देखाएको रबैयाको विरोध हुनु स्वाभाविक भएको उनको भनाइ थियो । उनले भने, ‘बेलायत बस्ने नेपालीले गरेको प्रदर्शन नेपालप्रतिको प्रेम नै हो ।’ भारतले नेपालमाथि लगाएको नाकाबन्दी अमानवीय भएको उनले बताए ।
विश्वभरका नेपाली भारतीय नाकाबन्दीविरुद्ध उभिएका बेला त्यसमा आफ्नो पनि ऐक्यबद्धता रहेको बेघाले बताए । वृद्ध उमेरका कारण कतै जान नसके पनि भारतले देखाएको अमानवीय व्यवहार कुनै पनि नेपालीलाई स्वीकार्य नहुने उनको भनाइ छ । बेघाले भने, ‘हाम्रो मुद्दामा हस्तक्षेप गर्नु भारतलाई के को चासो ? ’ उनले भारतले नाकाबन्दी लगाएर अन्तर्राष्ट्रिय कानुन मिचेको बताए ।
भारतले नेपालप्रति अमानवीय व्यवहार गर्नुमा नेपालकै अस्थिर राजनीति पनि एउटा कारण भएको पनि उनले बताए । नेपालमा अझैसम्म पनि नेताहरूको बुद्धि नफर्केको भन्दै उनले राजनीतिक दलहरूप्रति आक्रोशसमेत पोखे । उनले भने, ‘२०४५ सालमा पनि नाकाबन्दी भएकै हो । त्यो बेला पनि भारतले नेपालीलाई दुःख दियो । त्यसपछि पनि यसै गर्छ भन्ने हाम्रा देशका नेतालाई कहिल्यै लागेन ।’
annapurnapost
