मोदीलाई भारतीय सांसदको आग्रह : नेपालमाथि हस्तक्षेप रोकौं

बुधबार, २ मंसिर
काठमाडौं । भारतका एक प्रमुख सांसदले भारतले नेपालमाथि लगाएको ‘अनौपचारिक’ नाकाबन्दीका कारण अन्य वस्तुसँगै पेट्रोलियम पदार्थ, औषधि र खाद्यान्न आपूर्ति बन्द हुँदा आधारभूत मानवअधिकारको स्पष्ट रूपमा उल्लंघन भएको बताएका छन्।
केही दिनअघि परिवारसहित बिदा मनाउने क्रममा नेपाल आएका भारतीय बिजु जनता दलका सांसद तथागत सत्पथीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र पठाउँदै नेपालमा आमजनतामा फैलिएको भारतप्रतिको नकारात्मक धारणाबारे सचेत गराएका छन्।
‘भूकम्पबाट थिल्थिलिएको नेपालले भारतबाट महत्वपूर्ण सहयोगको अधिकार राख्छ। तर भारतले अहिले जे गरिरहेको छ त्यो स्पष्ट रूपमा आधारभूत मानवअधिकारको उल्लंघन हो,’ सत्पथीले उल्लेख गरेका छन् ।
‘हामीले नेपालीलाई थिल्थिलो पारेका छौं र नेपाली आमजनता भारतविरोधी बनेका छन् । सरदर नेपाली नागरिकको अवस्था हेर्दा उनीहरूलाई पेट्रोलको लामो लाइन, अवरुद्ध सार्वजनिक यातायात, औषधि र चिकित्सासम्बन्धी आधाभूत पूर्वाधार बन्द हुँदा उत्पन्न परिणामले स्वाभाविक रूपमा आक्रोशित गराएको छ,’ सांसद सत्पथीले प्रधानमन्त्री मोदीलाई लेखेको पत्रमा भनेका छन्।
पत्रमा उनले ‘नेपाल एउटा भूपरिवेष्टित मुलुक भएकै आधारमा भारतले ठूल्दाइको रबैया देखाउँदै अत्यावश्यक वस्तुहरूको आपूर्ति बन्द गर्नुपर्ने हो र ?’ भनी प्रश्न गरेका छन् । ‘मोदीजीबाट मैले पत्रको जबाफ पाएको छैन। तर नेपालभित्रको यथार्थ स्थितिबारे मोदीजीलाई जानकारी गराउन पाएकोमा म खुसी छु’, आजको अन्नपूर्णमा समाचार छ ।
nepalsandesh

Write Comment Below: