काठमाडौं र पाटन दरबार स्क्वायर क्षेत्रमा यस्ता दृश्य सहजै देखिन थालिसकियो । वैशाख जेष्ठमा भोलि नै छैन जसरी निस्सासिएको मनमा आज अनेक कुरा आउनु त स्वभाविक हो सँगसँगै आगामी दिनमा भूइँचालोबाट बच्न यसो गर्छु तेसो गर्छु भनेर उबेला सोचेका कुरा पनि पाखा लागिसके । साइकलमा चढेर यात्रा गर्नु वातावरणीय हिसावले वा स्वास्थ्यको दृष्टिले र केही हदसम्म इन्धनको किफायत गर्न उपयुक्त हो । यसले इन्धनमा परनिर्भरता कम गर्दछ । फेरि वास्तविकता यो पनि हो कि साइकल गुड्ने सडकमा दुई तिरै कहिले नसकिने ठूला गाडीका लाइन छन् । बीचको भाग बनेको छ- साँघुरो सडक । यस्ता सडक हुँदै साइकलमा गन्तव्य छिचोल्नु राष्ट्रियता, स्वास्थ्य लाभ, वातावरणमैत्रीका लागि अभियान भन्दा बढी जोखिम र साहसिक खेल हुन पुगेको छ । पैदलयात्री प्रथम भन्ने सर्वमान्य बुझाइलाई पुरै 'डिलिट' गरिसकेका हामी चालकहरुले साइकलेलाई भाउ दिने सवालै भएन । बेलाबखत सुनिने दुर्घटनाका दु:खद समाचारले हाम्रो यही मनस्थिति प्रमाणित गर्छ । राष्ट्रियताका विषय भनेको तरंग मात्र पनि त हैन नि जुन कुनै बेला ठूलो होस् अनि कहिले सानो । नाकाबन्दीका कारण हाम्रा भोगाइ कष्टकर भए पश्चात रिसले मुर्मुरिएर २ दिन त साइकल चलाइन्छ अनि तेस्रो दिनदेखि उही बसका धक्का बिचको दैनिकी सुरु हुन्छ वा तेलका लाइनमा दिन सकिन्छ अथवा कालोबजारको तेल पाउनमा परिश्रम सकिन्छ । हाम्रा साइकल चढ्नुपर्छ भन्ने अभियानले ढंगको साइकल लेन बनाउन सरकारलाई झक्झक्याउन सकेन जसको कारण साइकल यात्रा सधैँ 'साहसिक खेल' जस्तो मात्रै बन्न पुग्यो। हाम्रो देश भूपरिवेष्ठित । नाकाबन्दीको बेला मात्रै होइन प्रायजसो महिना इन्धन अभावको समस्याहरु आइनैरहन्छन्, चाहे त्यो कृत्रिम अभाव हुन् वा ट्याङ्करवालाको आन्दोलन वा आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई पैसा तिर्न नसकेर नै किन नहोस् । पेट्रोलियम पदार्थमा हामी बारम्बार पीडित भएको परिप्रेक्ष्यमा साइकल यात्रालाई प्रबर्द्धन गर्न ती गुड्ने ट्रयाकहरु पनि बनाइनुपर्थ्यो । जबजब हामीलाई पेट्रोलियम पदार्थकफ अभाव हुन थाल्छ तबतब हामी साइकल लेन र साइकल सिटीको मन्त्र जपिरहन्छौं । पेट्रोलियम पदार्थ सहज हुनेवित्तिकै हामी साइकल होइन मोटरसाइकल र लक्जरियस गाडीका सपना बुन्न थाल्छौं । त्यसैले अहिलेको नाकाबन्दीलाई अवसरको रुपमा बदल्ने हो भने सबैले साइकल लेन र साइकल सिटीको कुरालाई पनि अगाडि बढाउन सरकारलाई दबाब दिनै पर्छ । अन्यथा हामीले पेट्रोल नपाउन्जेल 'राष्ट्रियता' को नाममा साइकल चढ्नुको कुनै तुक हुँदैन । साइकल लेन एक इन्च नबनाइ साइकलयात्रा गर भन्नु हिमाल आरोहण सबैका लागि खुल्ला छ भन्नु जस्तै न भयो । हिमाल आरोहण गर्ने त ज्यान हत्केलामा राखेर आफ्नो लक्ष्य पूरा गर्ने साहसी हुन् र आज साइकल दैनिकरुपमा चलाउने पनि यस्तै साइकलयात्रामा बढी लगाव भएका साहसी नै हुन् । यहाँ साइकल चलाउने भनेर घरमा साइकल राखेर हप्तामा एक पटक वा बिदामा रमाइलोका लागि यात्रा गर्ने व्यक्ति वा समूहलाई भन्न खाजिएको होइन । साँच्चिकै साइकलयात्रा बढोस् भन्ने चाहने हो भने सडकमा साइकललाई प्राथमिकता दिनैपर्छ । पार्किङका समस्या जटिल हुँदै गएको समयमा साइकलले कम ठाउँ ओगट्ने कुरा प्रचारित हुनुपर्छ । सबै सार्बजनिक निकायहरुले साइकल पार्किङ अनिवार्य निर्माण गर्न लगाएमा साइकलयात्राको दिगो विकासका लागि सहयोगी हुन सक्नेछ । इटालीको पिसा नजिकको एक सहरले उसका बासिन्दाहरुले जति साइकल यात्रा गर्छन् त्यसबापत पैसा पाउने व्यवस्था लागु गरे पश्चात एक व्यक्तिले वर्षमा ६ सय युरो साइकल चलाएरै पाउँछन् । हाम्रामा यस्ता क्रान्तिकारी छलाङ् नभए पनि साइकल लेनको क्रमश: निर्माण अनि बिस्तार गर्न पहल त गर्न सकिन्छ । अन्धो राष्ट्रियताले कहिँ नपुर्याउने बरु स्थिति अझ जटिल बनाउने वर्तमानका भोगाइहरुले सिकाएका छन् । यी अप्ठेराहरुका सामना गर्दा व्यवहारिक परिवर्तनमा जोड दिनुपर्छ नभए पीडा सहजतामा परिवर्तन हुने बित्तिकै यी कुराहरु ओझेल हुन्छन् अर्को अप्ठ्यारो नआउँदासम्म ।
kantipur.ekantipur
