‘मधेसवादी दललाई धूलो चटाउन तराई मधेसकै जनता प्रतिकारमा उत्रिने’

भारतविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न माग
काठमाडौं, ४ मंसिर ।
मधेस आन्दोलनले आजित भएपछि अब मधेसका जनता प्रतिकार उत्रिने भएका छन् ।
मधेस आन्दोलनले औषधिसमेत अभाव भएपछि नागरिक समाज र चुरेभावर लोकतान्त्रिक पार्टीको अगुवाईमा मधेसका जनता प्रतिकारमा उत्रिने भएका हुन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै चुरेभावर लोकतान्त्रिकले मधेसवादी दलले गरिरहेको आन्दोलन मधेस र मधेसी जनताको हितमा छैन भन्ने कुरा आम मधेसी जनताले बुझिसकेकाले अब त्यस्ता तत्वलाई देशमा लागेको धमिरा सम्झी धूलो चटाउन तराई मधेसकै जनता प्रतिकारमा उत्रने जनाएको छ ।

    आन्दोलनको प्रतिकारमा उत्रिएका तराईबासी
चुरेभावर लोकतान्त्रिकका अध्यक्ष भुमिराज निरौलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘विदेशीको निहित स्वार्थसिद्धिका निम्नि गोटी बन्ने केही कथित मधेसवादी दलले गरिरहेको आन्दोलन मधेस र मधेसी जनताको हितमा छैन भन्ने कुरा आममधेसी जनताले बुझिसकेकाले अब त्यस्ता तत्वलाई देशमा लागेको धमिरा सम्झी धूलो चटाउन तराई मधेसकै जनता उत्रने छन् भन्ने कुरा हाल मोरङ र सुनसरीमा भइरहेको नागरिक समाजको आन्दोलनमा आमजनताको स्वस्फूर्त उपस्तितिले छर्लङ्ग पारिसकेको छ ।’
आन्दोलनको प्रतिकारमा चुरेभावरले तन मन धनले सहयोग गर्ने उल्लेख गरिएको छ । ‘ नागरिक समाजको अगुवाइमा आन्दोलित भइरहेको सन्दर्भमा चुरेभावर लोकतान्त्रिक पार्टीले देशलाई शिरमा र जनतालाई केन्द्रबिन्दुमा राखेर नागरिक समाजले गरेको जनपरिचालनप्रति ऐक्यबद्धता जनाउँदै स–शरीर उपस्थिति जनाउन पार्टी पंक्तिलाई निर्देशन दिइसकेको जानकारी गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
चुरेभावरले नाकाबन्दीलाई तत्काल अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न माग गरेको छ ।

Write Comment Below: