जनआन्दोलन चोकबाट सुरु भएको सो प्रदर्शनका सहभागीले ‘संविधानमा भएको १ नं प्रदेश बचाऔँ र सामाजिक सद्भाव तथा अस्तित्वको रक्षा निम्ति एक्यबद्ध बनौँ’ भन्ने मूल नाराका साथ बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
सो समाजका संयोजक राजु मास्केको नेतत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा पठाइएको सो ज्ञापनपत्रमा मोरङ र सुनसरी जिल्लालाई टुक्र्याउन नहुने र क्षेत्र नं १ लाई यथावत नै राख्नुपर्ने माग गरिएको छ ।
यी दुई जिल्लालाई टुक्र्याइएमा भौगोलिक, जातीय, भाषिक एवम् सांस्कृतिक सन्तुलनमा गम्भीर चोट पुग्नुका साथै आर्थिकलगायत समग्र विकासमा प्रतिकूल असर पर्ने सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
झापा, मोरङ, सुनसरीलाई अलग नगर्न सरकारलाई आग्रह
मधेस आन्दोलनलाई सम्बोधन गर्न पूर्वका तीन जिल्ला झापा मोरङ र सुनसरीलाई अलग नगर्न नागरिक सरोकार समाजले सरकारसँग आग्र्रह गरेको छ ।
समाजले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी तीन जिल्ला राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिकरुपमा अन्तरसम्बन्धित रहेकाले यसलाई नटुक्राउन आग्रह गरेको हो ।
समाजका अध्यक्ष विमल भट्टराईले वर्तमान संविधानको अनुसूचीमा भएको व्यवस्थाको विपक्षमा जाने र सम्बन्धित जिल्लाका जनताको अभिमतबिरुद्ध गरिने सहमति आफूहरुलाई मान्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी तीन जिल्लाको सदियौँदेखिको सम्बन्धलाई खल्बल्याउने काम भएको छ, यो हामीलाई मान्य छैन ।”
समाजका सदस्य—सचिव प्रभुप्रसाद श्रेष्ठले सम्बन्धित जिल्लाका नागरिकहरुको अभिमतबिरुद्ध चालिने कुनै पनि कदम स्वीकार्य नहुने भन्दै त्यस्तो जनभावना विपरीतको कदम नचाल्न आग्रह गर्नुभयो । रासस
dainiknepal
