कमनवेल्थ बैठकमा चौधरीद्वारा नाकाबन्दीको जानकारी

मंसिर ११, २०७२- फोब्र्सको सूचीमा रहेका एक मात्र नेपाली व्यवसायी विनोद चौधरीले कमनवेल्थ देशहरूको बैठकमा भारतीय नाकाबन्दीले मानवीय संकट पैदा गरेकोबारे ध्यानाकर्षण गराएका छन्।

चौधरी समूहका अध्यक्ष एवं उद्योग परिसंघका पूर्वअध्यक्ष चौधरीले नाकाबन्दीका कारण भूकम्पले जर्जर मुलुकलाई नाकाबन्दीले आर्थिक संकटतर्फ समेत धकेलेको बताए।

चौधरी ग्रुपद्वारा जारी विज्ञप्तिअनुसार युरोपेली मुलुक माल्टामा आयोजित कमनवेल्थ मुलुकका राष्ट्र प्रमुखहरू सहभागी हुने सम्मेलनका क्रममा आयोजित एक कार्यक्रममा उनले उक्त धारणा राखेका हुन्।

कनेक्टिङ एसिया एक्सलरेटिङ रिजनल इन्टिग्रेसन एन्ड डेभलपमेन्ट विषयक अन्तक्रियालाई उनले सम्बोधन गरेका थिए। कमनवेल्थ बेलायती उपनिवेश भएका मुलुकहरूको समूह हो। नेपाल यसको सदस्य नभए पनि चौधरीलाई अतिथिका रूपमा बोलाइएको विज्ञप्तिमा उल्लेख छ।

‘नाकाबन्दीले सर्वसाधारणको जिविकामा ठूलो असर परेको छ भने उद्योगधन्दा बन्द भएको अवस्था छ,’ उनको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ। यसमा भारतलगायत ८० मुलुकका सरकार प्रमुख एवं प्रतिनिधि सहभागी छन्। उनले दक्षिण एसियाली मुलुकलाई एक अर्कामा जोड्न र समृद्धिका लागि भारतको भूमिका महत्त्वपूर्ण हुने बताए।

‘दक्षिण एसियाको विकासका लागि यस क्षेत्रको सबैभन्दा ठूलो मुलुक भारतले छिमेकीहरूप्रति सदभाव राख्नुपर्छ,’ चौधरीले भने। भारतले दुई महिनायता इन्धन र अन्य सामग्री नेपाल आउन रोक लगाउँदै आएको छ। इन्धन र कच्चा पदार्थको अभावमा उद्योग व्यवसाय धराशायी बन्दै गएको छ। आर्थिक वृद्धिदर ऋणात्मक हुने देखिएको छ।

kantipur.ekantipur

Write Comment Below: