भारतले नेपाललाई नाकाबन्दी गर्दै इन्धन लगायतका अत्यावश्यक बस्तु दिन रोकेपछि नेपाल आयल निगमले चीन र बंगलादेशसँग व्यापार प्रक्रिया अघि बढाएको थियो ।
चीनसँग तेल ल्याउने समझदारी भैसकेकाबेला बंगलादेशले पनि सकारात्मक जवाफ दिएको छ । बंगलादेशसँग इन्धन आयातको प्रक्रियाबारे बुझ्न नेपाल आयल निगमका निर्देशक मुकुन्द घिमिरे राजधानी ढाका गएका थिए ।
घिमिरेले भने, ‘नेपाललाई पेट्रोलियम पदार्थ बिक्री गर्न बंगलादेश तयार छ, समझदारी पत्रमा हस्ताक्षर गर्न तयार छौं भनेको छ ।’
नेपाली टोलीले ढाकामा बंगलादेश पेट्रोलियम कर्पोरशन (बीपीसी)का अधिकारीहरुसँग छलफल गरेको थियो । बीपीसीले व्यापारिक सम्झौता भए नेपाललाई डिजेल, पेट्रोल र हवाइ इन्धन उपलब्ध गराउन सकिने बताएको छ ।
तर खाना पकाउने ग्यास भने दिन नसक्ने बीपीसीले जनाएको छ । बंगलादेशमा ग्यासको उत्खनन् निकै कम भएकाले सरकारी तवरबाट ग्यास दिन नसकिने उसको भनाइ छ ।
रि–रुट गरेर वा एयरलिफ्टिङ गरेर लैजाऊ : भारत
यसैबीच भारतले सीमा नाकामा रोकिएका औषधिलगायतका अत्यावश्यक सामान रि–रुटिङ गरेर वा हवाई मार्गबाट लैजान नेपाललाई आग्रह गरेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा औषधि र पेट्रोलियम पदार्थ रक्सौलबाहेकका नाकाबाट रि–रुट गरेर वा एयरलिफ्टिङ गरेर लैजान सक्ने बताए ।
मधेसी मोर्चाले सीमानाकामा रोकिएका औषधि ल्याउन दिन र स्कूल खोल्न दिन तयार रहेको बताएलगत्तै भारतले पनि यस्तो जवाफ दिएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भारतले नेपालमा नाकाबन्दी नलगाएको दोहोर्याए ।
khabardabali भिडियो हेर्न तलको बाकस थिच्नुहोस
