परासी : कालोबजारी गर्न इन्धन लगेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीले विहीबार राति नेपाल आयल निगमको एक ट्याङ्कर डिजेल पक्राउ गरेको छ
रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमका डिपो प्रमुख दिनेश यादवले बिल र चलानी बिना काठमाडौंतर्फ पठाउँदै गरेको एक ट्याङ्कर डिजल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि रुपन्देही प्रहरीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।
उक्त ट्याङ्करमा १२ हजार लिटर डिजल थियो । इन्धनको अभाव भएको मौका छोपी महङ्गो मूल्यमा बेच्न डिपो प्रमुख यादवले डिजेल काठमाडौं पठाएको आरोप छ ।
ना ४ ख ७१४५ नम्बरको ट्याङ्करमा लोड गरी काठमाडौं लग्दै गरेको इन्धन बर्दघाट बजारबाट नियन्त्रणमा लिइएको प्रउ उपाध्यायले जानकारी दिए ।
‘डिपो प्रमुख यादवले विनाकागज काठमाडौंको एक पम्पलाई डिजल पठाएको जानकारी आएपछि हामीले चालकसँग कागज पत्र (भ्याट बिल र चलानी कागज) माग्यौं’, प्रहरी उपरीक्षक उपाध्यायले भने, ‘तर उनले कागज देखाउन नसकेपछि पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमार्फत् कारबाहीका लागि राती नै ट्याङ्कर पठाएका हौं ।’
चालकलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक उपाध्याले भने, ‘यो तेल काठमाण्डौंको पम्प पु¥याउने हो लैजानुस भनेर पठाएका हुन् ।’ पम्पको नाम भने उनले बताउन चाहेनन् ।
अनियमित तरिकाले त्यसरी सोझैं काठमाडौंको पम्पमा इन्धन पठाउन नपाइने पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोशियसनका अध्यक्ष प्रेम न्यौपानेले बताए ।
भलबारीस्थित डिपोले पश्चिमाञ्चलका अर्घखाँचीबाहेकका सबै जिल्लामा रहेका पम्पहरुमा सोझै भ्याट बिल काटेर इन्धन पठाउन पाउँछ । तर काठमाडौंमा पठाउँदा त्यहाँको डिपोमार्फत् पठाउनु पर्ने प्रावधान रहेको न्यौपानेले बताए ।
इन्धन नियन्त्रण र कालोबजारीको आरोपबारे प्रतिक्रिया माग्न डिपो प्रमुख यादवलाई बारम्बार सम्पर्क गर्न खोज्दा उनको मोबाइल उठेन ।
यादवलाई सरुवा गराउन व्यवसायी काठमाण्डौं
डिपो प्रमुख यादव यसअघि पनि पटकपटक अनियमित तरिकाले सोझै पम्पहरुमा इन्धन पठाउने गरेको भन्दै व्यवसायीहरुबाट आलोचित हुँदै आएका छन् ।
सहज समयमा पनि उनले बिल नकाटी सोझै इन्धन पठाएर मोटो रकम कुम्लाएको आरोप व्यवसायीहरुले लगाउँदै आएका छन् ।
पछिल्लो पटक नाकाबन्दीको मौका छोपेर कमिशन र कालोबजारी गरेको आरोपमा यादवको सरुवाको माग गर्दै पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियसनका पदाधिकारीहरु शुक्रबार काठमाण्डौं पुगेका छन् ।
‘यादवले फेरि कालोबजारी गर्ने उद्देश्यले पठाएको डिजल प्रहरीले पक्राउ गरेको सुनेका छौं’, एशोसियसनका अध्यक्ष न्यौपानेले भने, ‘अब उनको ठाउँमा अर्को प्रमुख नपठाएसम्म डिपोबाट हुने अनियमित काम र भ्रष्ट्रचार रोँिकदैन त्यसैले सरुवाका लागी आएका हौं ।’
सरुवाका लागि अहिले नेपाल आयल निगममा पुगेको र त्यहाँबाट पनि नभए मन्त्रालय तथा अन्य निकायमा जाने तयारी रहेको न्यौपानेले जानकारी दिए ।
www.annapurnapost
